बागमतीको सभामुखका लागि कांग्रेसबाट अधिकारी उम्मेदवार बन्ने

तु खबर संवाददाता
२०७९ पुष २८, बिहीबार ०९:४२

मकवानपुर । बागमती प्रदेशसभाको सभामुखका लागि नेपाली कांग्रेसबाट धादिङका शिवराज अधिकारी उम्मेदबार बन्ने भएका छन् ।

धादिङ क्षेत्र नं. २ (१) बाट समानुपातिकतर्फबाट निर्वाचित सांसद अधिकारीलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले जानकारी दिए ।

सत्ता साझेदार दलहरुको तर्फबाट भने राप्रपाका भुवन पाठक उम्मेदवार छन् । बागमती प्रदेशसभा सचिवालयले सभामुख निर्वाचनको लागि आज बिहान १०ः३० बजेदेखि २ बजेसम्मको समयसीमा तोकेको छ ।

मनोनयन दर्ता सकिएपछि दिउँसो २ः३० बजेदेखि ३ः३० बजेसम्मका लागि मनोनयन फिर्ता र दिउँसो ४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

उनका अनुसार, सभामुखको निर्वाचन कार्यक्रम शुक्रबार बिहान ११ बजेका लागि समय तोकिएको छ ।

बागमती प्रदेशसभामा नेपाली कांग्रेसका ३७ जना, नेकपा एमालेका २७ जना, नेकपा माओवादी केन्द्रका २१ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३ जना, नेकपा एकीकृत समाजवादीका ७ जना, नेपाल मजदुर किसान पार्टीका ३ जना र हाम्रो नेपाली पार्टीका २ जना गरी ११० जना प्रदेशसभाका सदस्यहरु रहेका छन् ।