हेटौंडामा शुक्रबारबाट २४ कुन्डीय गायत्री महायज्ञ हुने

तु खबर संवाददाता
२०७९ पुष २७, बुधबार १०:१२

मकवानपुर । हेटौंडा भैरबरोडमा शुक्रबारबाट चार दिन २४ कुन्डीय गायत्री महायज्ञ हुने भएको छ । गायत्री चेतना केन्द्रको आयोजनामा हेटौंडाको भैरवरोडमा २४ कुन्डीय गायत्री महायज्ञ हुने भएको हो ।

भारतको शान्तिकुन्ज हरिद्वारबाट बेदपाठी ब्राहमणहरु आइ महायज्ञ संचालन हुने मुल महायज्ञ समितिका संयोजक मधु जैनले जानकारी दिए ।

माघे संक्रान्तीको अवसरमा एक आध्यात्मिक र वैज्ञानिक प्रयोग गरि गायत्री महायज्ञमा चरु दिव्य जडिबुटी तथा वेद मन्त्र शान्तिको अद्भूत ध्वनीबाट सञ्चालन हुने संयोजक जैनले बताए ।

महायज्ञमा निःशुल्क गर्भधारण संस्कार, नामाकरण, मुन्डन, अन्नप्रासन, विद्यारम्भ, गर्भवती महिलाहरुको लागि पुंस्वन, जनेऊ, गोदभराई, दिक्षान्त, बतबन्ध, विवाह, जन्मोत्वस लगायतका कार्यक्रमहरु समेत रहेको आयोजकले जनाएको छ ।

महायज्ञ सफल पार्न विभिन्न समितिहरु समेत बनेको छ । जसमा मुल संयोजक मधु जैन, कलश यात्रा समिति संयोजक सखन चचानी, मञ्च संचालन समिति कविता अग्रवाल, प्रचारप्रसार समितिमा राजाराम बर्मा र नीलम पाण्डे, यज्ञशाला समितिमा राजकुमारी गुप्ता र रञ्जु मलिक, दीपयज्ञ समितिमा नीलम गुप्ता, मीरा अग्रवाल र उषा कर्ण रहेका छन् ।

त्यस्तै, भोजनालय समितिमा ईन्दु कंस्कार, वचिया रौनियार र नीलम जालन रहेका छन् । महायज्ञ २ गतेसम्म संचालन हुनेछ ।