मकवानपुरमा डेंगु संक्रमितको कुल संख्या ५८६० पुग्यो

तु खबर संवाददाता
२०७९ पुष २५, सोमबार १७:३९
file-photo

मकवानपुर । मकवानपुरमा डेंगु संक्रमितको संख्या ५ हजार ८६० जना पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, सोमबार थप तीन जनामा संक्रमण पुष्टि भएसँगै डेंगु संक्रमितको कुल संख्या ५ हजार ८६० जना पुगेको हो ।

उक्त तथ्याङ्क गत साउन महिनादेखि सोमबारसम्मको हो । जसमा ३ हजार २०५ जना पुरुष र २ हजार ६५५ जना महिला रहेका छन् ।

जिल्लाको १० स्थानीय तहमध्ये सबैभन्दा धेरै डेंगु संक्रमित हेटौंडा उपमहानगरपालिकामा रहेका छन् । जसअनुसार, हेटौंडा उपमहानगरपालिकामा २ हजार ३९२ जना पुरुष र १ हजार ९४८ जना महिला गरी ४ हजार ३४० जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै, डेंगु संक्रमण पुष्टि हुनेमा मनहरी गाउँपालिकामा ५५० जना पुरुष र ५०३ जना महिला गरी १ हजार ५३ जना, थाहा नगरपालिकामा १०८ जना पुरुष र ६७ जना महिला गरी १७५ जना, मकवानपुरगढी गाउँपालिकामा ४५ जना पुरुष र ३६ जना महिला गरी ८१ जना, बागमती गाउँपालिकाका ४ जना पुरुष र ४ जना महिला गरी ८ जना रहेका छन् ।

यसैगरी, इन्द्रसरोवर गाउँपालिकाका एक जना पुरुष र २ जना महिला गरी ३ जना, कैलाश गाउँपालिकाका ५ जना पुरुष र ३ जना महिला गरी ८ जना, भीमफेदी गाउँपालिकामा ३१ जना पुरुष र २८ जना महिला गरी ५९ जना, बकैया गाउँपालिकामा १८ जना पुरुष र २९ जना पुरुष गरी ४६ जना, राक्सिराङ गाउँपालिकमा १९ जना पुरुष र ६ जना महिला गरी २५ जना, हाल ठेगाना नखुलेका १७ जना पुरुष र १८ जना महिला गरी ३५, अन्य जिल्लाका १५ जना पुरुष र ११ जना महिला गरी २६ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार, जिल्लामा उक्त संक्रमणका कारण हालसम्म एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिकाका रहेका छन् ।