हेटौंडामा कुटपिटबाट दुई जना घाइते, ७ जना पक्राउ
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९ मचुनडाँडास्थित निर्माणधिन दाना फ्याक्ट्रीमा काम गर्ने निम्न कामदारहरुको कुटपिटबाट दुई जना घाइते भएका छन् ।
कुटपिटबाट हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९ मचुनडाडाँ बस्ने अन्दाजी १९ वर्षीय दिनेश देबकोटा र २३ वर्षीय सुजन मोक्तान घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार, आइतबार राति ९ बजेको समयमा निर्माणधिन दाना फ्याक्ट्रीमा कामदार र उनीहरु सँगै बसेर मापसे गरेका थिए । सोही क्रममा सामान्य विवाद हुँदा कामदारहरुले उनीहरुलाई कुटपिट गरेका खुल्न आएको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
यस्तै, प्रहरीले देवकोटा र मोक्तानलाई कुटपिट गर्ने कामदारहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भीमफेदी–८ बस्ने २३ वर्षीय कृष्ण तामाङ, भीमफेदी–३ बस्ने २० वर्षीय एकलाल बजु, २२ वर्षीय महेन्द्र घलान, २० वर्षीय सुदिप बजु, भीमफेदी–२ भैसे बस्ने २२ वर्षीय पृथ्वी केपछाकी मगर , २७ वर्षीय सुजन केपछाकी मगर र भीमफेदी–१ बस्ने १८ वर्षीय बिबेक पाख्रिन रहेका छन् ।
पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको र कुटपिटबाट घाइते भएका देवकोटा र मोक्तानको चुरेहिल अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
