बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेद्वारा १४ महिने कार्यकालको उपलब्धि सार्वजनिक

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आफ्नो कार्यकालमा भएको उपलब्धिहरु आइतबार सार्वजनिक गरेको छ । मुख्यमन्त्री पाण्डेले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी गत २०७८ कार्तिक ११ गते प्रदेशको मुख्यमन्त्री पद बहाली गरेका मुख्यमन्त्री पाण्डेले मिति २०७९ साल पौष २४ गतेसम्म आफुले गरेको कामको उपलब्धी सार्वजनिक गरेका हुन् ।
पत्रकार सम्मेलनमा मुख्यमन्त्री पाण्डेले सरकारको साझा न्यूनतम कार्यक्रम २०७८ बमोजिम विभिन्न विषयसँग सम्बन्धित ऐन ६, अध्यादेश ९, नियमावली ३, विनियमावली १, निर्देशिका २, कार्यविधि १९, मापदण्ड ५ तथा आदेश १ जारी गरी कानूनी आधार तयार गरिएको जानकारी दिए ।
मुख्यमन्त्री पाण्डेले आफ्नो कार्यकालमा सडक पूर्वाधारतर्फ १६० दशमलव १४ किलोमिटर कच्ची, २०० दशमलव ७७ किलोमिटर ग्राभेल, ११६ दशमलव ८६ किलोमिटर कालोपत्रे, ७३ दशमलव ९३ किलोमिटर ढलान सडक र १९ वटा पुल तथा झोलुङ्गे पुल÷ट्रस ब्रिज ६ वटा निर्माणलाई महत्वपूर्ण उपलब्धी भएको उल्लेख गरे ।
यस्तै, उनले आफ्नो कार्यकालमा भवन पूर्वाधार तर्फ नयाँ भवन निर्माण २१२ वटा, पार्क तथा अन्य संरचना निर्माण २६४ वटा, सरकारी भवन मर्मत ५७ वटा, जनता आवास इकाई ६८८ वटा निर्माण गरेको बताए ।
उनले प्रदेश उच्च शिक्षा ऐन, २०७८ जारी गरी प्रदेश उच्च शिक्षा परिषद् गठन गरिएको छ भने ऐन कार्यान्वयनको लागि प्रदेश उच्च शिक्षा नियमावलीको मस्यौदा तयार गरी प्रदेशस्तरमा विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठानस्थापना गरी शिक्षा विकासमा भूमिका बढाउने कार्य भएको, प्रादेशिक विज्ञान तथा प्रविधि विश्वविद्यालय तथा प्रादेशिक विश्वविद्यालय स्थापनाका लागि जग्गा खोजी गर्न मन्त्रिपरिषदबाट कार्यदल गठन गरी प्रक्रिया अघि बढाइएको बताए ।
मुखयमन्त्री पाण्डेले शैक्षिक छात्रबृत्ति निर्देशिका, २०७८ जारी गरिएको, प्रदेश विज्ञान तथा प्रविधि, अनुसन्धान र नवप्रवर्तन नीति, २०७८ स्वीकृत गरी कार्यान्वयन ल्याइएको, शैक्षिक उपलब्धिका आधारमा प्रदेशभित्रका २०० वटा माध्यमिक विद्यालयलाई रु २० लाख र १०० वटा आधारभूत विद्यालयलाई रु १० लाखका दरले अनुदानका कार्यक्रम कार्यान्वयनमा ल्याइएको, विद्यालय भौतिक पूर्वाधार विकास अन्तर्गत ११५ विद्यालयहरुमा २ कोठे भवन निर्माण गर्न रु. २५ लाख र १२८ विद्यालयहरुमा घेराबार निर्माणको लागि रु.१५ लाखका दरले बजेट व्यवस्था गरिएको बताए ।