बस दुर्घटना हुँदा ६ महिलाको मृत्यु
बुटवल । पाल्पामा बिहीबार राति बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुसार्ने जाँदै गरेको ग १ ख ४९७७ नम्बरको यात्रुबाहक बस रैनादेवी छहरा गाउँपालिका वडा नं। ८ मधुवन टारीफाँट नजिकै राधादी गैराजंगलमा गएराति साढे ९ बजेतिर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक सबै पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं. ८ खुसार्ने गाउँका महिला हुन् । मृत्यु हुनेहरुमा ५४ वर्षीया खिमकुमारी राना, ३३ वर्षीया निर्मला घिमिरे, ११ वर्षीया सुरुमा घिमिरे, २१ वर्षीया दानकुमारी खत्री, ४५ वर्षीया गुनी गाहा र १९ वर्षीया विमा पाण्डे रहेका छन् ।
बस सडकबाट करिब ६० मिटर तल भिरमा खसेर दुर्घटना भएको थियो । दुर्घटनामा १६ जना घाइते भएका १६ जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
दुर्घटनापछि बसका धनी र सहचालक फरार छन् । मृतकमध्ये तीन जनाको शव बसले च्यापेकाले शुक्रबार बिहान मात्र निकालेर पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
