आगोले जलेर दुई जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ पुष २०, बुधबार ०९:०३
सांकेतिक तस्वीर

पाँचथर । पाँचथरको फिदिम नगरपालिका वडा नं ८ घुमाउनेटारमा गएराति एक व्यक्तिको घरमा आगलागी हुँदा दुई जनाको जलेर मृत्यु भएको छ । स्थानीयवासी मेघबहादुर गुरुङको घरमा राति १ः३५ बजे अचानक आगलागी हुँदा उनकी बुहारी २३ वर्षीया आसाङसिं थेवे र २२ वर्षीया छोरी ममता गुरुङको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

आगलागीमा परी मेघबहादुर र विजेन्द्र गुरुङ सामान्य घाइते भएका छन् भने अन्य तीन जना भने भाग्न सफल भएका थिए । आगलागीबाट घर पूर्णरूपमा क्षति हुँदा त्यहाँ भएको अन्नपात, गरगहना, किराना पसलसमेत गरी अनुमानित रु ५० लाख बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ ।

अन्य कारण नदेखिएको हुँदा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । प्रहरीका अनुसार, स्थानीयवासी, दुई वटा वारुणयन्त्र तथा प्रहरीको सक्रियतामा आगलागी ३ घण्टापछि नियन्त्रणमा आएको थियो ।