आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरद्वारा संचारकर्मीहरुसँग अन्तरक्रिया

तु खबर संवाददाता
२०७९ पुष १९, मंगलवार १८:४४

मकवानपुर । आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरले मंगलबार हेटौंडामा संचारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ मा रहेको उक्त आयुर्वेद स्वास्थ्य केन्द्रले सेवाको प्रवर्धनका विषयमा संचारकर्मीहरु अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा केन्द्रका प्रमुख तथा आयुरर्वेद चिकित्सक ललिता पाण्डेले यस केन्द्रमा धेरै खालका उपचार गरिनुका साथै औषधि समेत वितरण गरिँदै आएको बताए । उनले पहिलेको तुलनामा बिरामीहरुमा पनि चासो बढेको र सेवा पनि प्रभावकारी भएको बताए ।

यस्तै, मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले आयुर्वेद औषधीको महत्व र प्रयोग विधिबारे जनतालाई स्पष्ट तरिकाले बुझाउनुपर्नेमा जोड दिए । आयुर्वेदबारे संस्कृत भाषा उल्लेखित हुने भएकाले केही शब्द नबुझ्ने र प्रयोग गर्न पनि नजान्ने हुँदा यसलाई बुझ्ने भाषामा उल्लेख गर्नुपर्ने उनको भनाई छ ।

कार्यक्रममा स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका निर्देशक महेश्वर श्रेष्ठले आयुरर्वेद औषधालयहरुलाई प्रभावकारी बनाउनका लागि बजेट समेत थप गरेर काम गरिँदै आएको बताए । जिल्ला आयुर्वेदबाट अहिले बहिरंग सेवा, निशुल्क परामर्श सेवा, सशुल्क फार्मेसी सेवा, ल्याब, फिजियोथेरापी र ज्येष्ठ नागरिक सेवा प्रवाह गरिरहेको जानकारी गराए ।

अन्तरक्रिया कार्यक्रम जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मकवानपुर व्यववस्थापन समितिका अध्यक्ष मधु बजगाई क्षेत्रीको सभाध्यक्षमा भएको हो ।