वंशगोपाल सहकारीले मनायो १५ औं स्थापना दिवस

तु खबर संवाददाता
२०७९ पुष १८, सोमबार १८:२७

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ हर्नामाडीमा रहेको वंशगोपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्थापना दिवस मनाएको छ । सहकारीले सोमबार एक कार्यक्रमको आयोजना गरी १५ औं स्थापना दिवस मनाएको हो ।

कार्यक्रमका प्रमुख अतिथी एवम् जिल्ला समन्वय समिति मकवानपुरकी सदस्य विष्णुमाया थपलियाले सहकारीले अहिलेसम्म ईमान्दारीतापूर्वक आफ्नो कारोबार गरिरहेको बताउनुभयो । उहाँले आगामी दिनमा सहकारीले दैनिक बचत लगायत संस्थालाई अझै अगाडि बढेको हेर्न चाहेको बताइन्

सहकारीले हर्नामाडीमा रहेको ५ वटा (सामुदायिक र नीजि) विद्यालयबाट उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान सहित शैक्षिक सामाग्री प्रदान गरिएको थियो । सामुदायिकतर्फ ज्योती माध्यामिक विद्यालयका विद्या नेपाल र भूमिका गुरुङ, गोरक्षनाथ मा.वि. का सुष्मा भुलुन, कमला आधारभूत विद्यालयका सम्झना मोक्तान र नीजि विद्यालयबाट मकवानपुर बाल विद्या सदनका प्रार्थना गुरुङलाई सम्मान गरिएको हो ।

स्थापना दिवसका अवसरमा सहकारीका संस्थापक सदस्य डिल्ली प्रसाद मिश्रलाई सम्मान गरिएको थियो भने संस्थापक सदस्य स्वर्गीय भरत पराजुलीलाई सम्झंदै उहाँको योगदानबारे चर्चा गरिएको थियो ।

सहकारीका अध्यक्ष अरुण खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष माधव नारायण तुलाधार, सचिव वरुण खतिवडा, कोषाध्यक्ष इमान बहादुर थापा, लेखा समिति सदस्य ऋषि प्रसाद कट्टेल र शिक्षा उपसमिति सदस्य पार्वती पौडेलले मन्तव्य व्यक्त गरेका थिए ।

वि.सं. २०६५ सालमा स्थापना भएको सहकारीले ७ करोड बराबरको कारोबार गरिरहेको छ । यस सहकारीमा १ हजार ६५ जना शेयर सदस्य रहेका छन् ।