सहिद स्मृति गोल्डकपको आय–व्याय सार्वजनिक

तु खबर संवाददाता
२०७९ पुष १८, सोमबार १८:२२

मकवानपुर । स्थानीय तह सहिद स्मृति गोल्डकप–२०७९ को आय–व्यय विवरण सार्वजनिक गरिएको छ । मकवानपुर जिल्ला फुटबल संघले गत जेठ महिनामा आयोजना गरेको चौथो स्थानीय तह सहिद स्मृति गोल्डकपको आय–व्याय सोमबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक प्रताप विष्टले फुटबल प्रतियोगिताबाट २१ लाख ३६ हजार रुपैयाँ बचत भएको जानकारी गराए । उनले कुल १ करोड ३१ लाख ५६ हजार रुपैयाँ आम्दानी भएको र एक करोड ९ लाख ६७ हजार रुपैयाँ खर्च भएका बताए ।

उनका अनुसार, प्रतियोगिता आयोजनाका लागि मकवानपुरका स्थानीय तहहरुले मात्रै झण्डै ६० लाख रुपैयाँ, बागमती प्रदेश खेलकुद विकास परिषद्बाट ४१ लाख ९१ हजार रुपैयाँ सहयोग प्राप्त भएको थियो ।

हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको प्रतियोगिताको उत्कृष्ट खेलाडीका लागि ६ लाख ९८ हजार रुपैयाँ मूल्यको बुलेट मोटरसाइकल हेटौंडा स्कूल अफ म्यानेजमेन्टले प्रायोजन गरेको थियो । प्रतियोगितामा टिकटबाट मात्रै २२ लाख रुपैयाँ आम्दानी भएको बताइएको छ ।

प्रतियोगिता आयोजनाका क्रममा खेलाडी भत्ताका लागि ३३ लाख ३० हजार रुपैयाँ, पुरस्कारका लागि २८ लाख रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरिएको छ । अतिथि सत्कारमा ७ लाख ८३ हजार रुपैयाँ, रेफ्री खर्च ६ लाख ९९ हजार रुपैयाँ, प्रचारप्रसारमा ५ लाख रुपैयाँ, खेलमैदान व्यवस्थापनमा ५ लाख ९४ हजार रुपैयाँ खर्च भएको जनाइएको छ ।

आय–व्यय विवरण सार्वजनिक गर्ने कार्यक्रममा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेश खड्गी, निमित्त कार्यालय प्रमुख माधव कोइरालालगायतको सहभागिता रहेको थियो ।