बागमती प्रदेशसभाको सभामुख र उपसभामुखको निर्वाचन पुस २९ गते

तु खबर संवाददाता
२०७९ पुष १८, सोमबार १५:२९

मकवानपुर । बागमती प्रदेशसभाको सभामुख र उपसभामुखको निर्वाचन यही पुस २९ गते हुने भएको छ । प्रदेशसभाको आज बसेको दोस्रो कार्यकालको पहिलो बैठकले प्रदेशसभाको सभामुख र उपसभामुखको निर्वाचनको लागि समय घोषणा गरेको हो ।

बैठकमा ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले आज बिहान बसेको सर्वदलीय बैठकको निर्णय अनुसार, सभामुख र उपसभामुखको निर्वाचनको मिति र समय प्रस्तुत गरेका हुन् ।

साथै उक्त बैठकले सभामुख/उपसभामुखको निर्वाचन कार्यक्रमको सूचना प्रकाशण गर्न प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्कालाई जिम्मेवारी दिइएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

वर्तमान प्रदेशसभामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा, नेमकिपा र हाम्रो नेपाली पार्टीका ११० जना रहेका छन् ।