मकवानपुरमा ७० वटा मानव अधिकार उल्लङ्घनका घटना
मकवानपुर । मकवानपुरमा एक वर्षको अवधिमा ७० वटा मानव अधिकार उल्लङ्घनका घटना भएका छन् । २०२२ को जनवरीदेखि डिसेम्बरसम्म अर्थात २०७८ पुसदेखि हालसम्मको अवधिमा मकवानपुरमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ७० वटा घटना भएको अनौपचारिक सेवा केन्द्र इन्सेकले जनाएको छ ।
इन्सेकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, राज्यपक्षबाट ७ जना र अन्यपक्षबाट ६६ जना मानिस पीडित भएका छन् । जसमध्ये ५० जना महिला, २२ जना पुरुष र १ जना लैङ्गिक तथा अल्पसङ्ख्यक समुदायको व्यक्ति पीडित रहेका छन् । बाल अधिकारका घटनामा २५ जना बालिका पीडित भएकोमा २१ जना बलात्कारमा परेका छन् ।
त्यस्तै, ३ जना यौन दुर्व्यवहारका घटना र १ नवजात शिशु हत्याको घटनामा भएको थियो । मकवानपुरमा २५ वटा घटनामा महिला अधिकारका हनन् भएको थियो । २५ जना महिला पीडित भएकोमा १० जना बलात्कारबाट, ४ जना बलात्कारको प्रयासबाट, ४ जना बहुबिबाह र १ जना बेचबिखनको घटनामा पीडित भएको इन्सेकको प्रतिवेदनमा उल्लेख रहेको छ ।
यस अवधिमा ३ जना महिला र ५ पुरुष गरी ८ वटा हत्याका घटना भएका छन् । यस्तै, १४ वटा हत्या प्रयासका घटनामा ३ महिला १० जना पुरुष र १ लैङ्गिक तथा अल्पसङ्ख्यक महिला पीडित भएको इन्सेकले जनाएको छ ।
यस वर्ष परिवारजनबाट ४ जना बालिकासहित ५ ओटा बलात्कार, १ यौन दुर्व्यवहार, १ बलात्कार प्रयास र १ नवजात शिशु छोरी सहित ६ ओटा हत्याको घटना प्रतिवेदनमा उल्लेख रहेको छ ।
