हात्तीको आक्रमणबाट महिलाको मृत्यु

तु खबर संवाददाता
२०७९ पुष १७, आईतवार ०९:०२

झापा । झापामा गएराति हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको शिवसताक्षी नगरपालिका वडा नम्वर ११ को बच्चाबगरमा जंगली हात्तीको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गएराति करिब २ बजे हात्ती आक्रमणगर्दा स्थानीय कृष्णमाया भण्डारीको मृत्यु भएको हो । हात्तीको आक्रमणबाट गम्भीर घाइते कृष्णमायाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार, हात्तीले घर भत्काउन थालेपछि उनी बाहिर निस्केकी थिइन् । त्यही क्रममा हात्तीले आक्रमण गरेर घाइते बनाएको थियो । हात्तीले श्रीमान् शान्तिराम भण्डारीलाई पनि आक्रमण गरी गम्भीर घाइते बनाएको छ । श्रीमान् शान्तिरामको उपचार भइरहेको छ ।

स्थानीय बासिन्दाका अनुसार एउटा छावासहित हात्तीको समूह गाउँ पसेको थियो । एक छावासहित ४ वटा हात्तीले शनिबार बेलुकी ११ बजेदेखि नै गाउँमा आतंक मच्चाएको थियो ।