सन्दीप लामिछानेको निवेदनमा आज सुनुवाइ हुन सकेन

तु खबर संवाददाता
२०७९ पुष १४, बिहीबार १६:४५

काठमाडौं । पूर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश बदरको माग गर्दै सन्दीप लामिछानेले दिएको निवेदनमा आज सुनुवाइ हुन सकेन ।

लामिछानेको निवेदन उच्च अदालत, पाटनका न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको थियो । तर, हेर्न नभ्याइनेमा परेको छ ।

नाबालिका बलात्कारको आरोपमा लामिछानेलाई जिल्ला अदालत, काठमाडौंले कात्तिक १८ मा पूर्पक्षका लागि थुनामा पठाएको थियो ।

लामिछानेविरुद्ध २१ भदैमा १७ वर्षीया किशोरीले जाहेरी दिएकी थिइन् । क्यारेबियन प्रिमियर लिग खेल्न जमैका पुगेका उनी एक महिनापछि असोज २० मा नेपाल फर्किएका थिए । उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो ।