बागमती प्रदेशसभाका ज्येष्ठ सदस्य ढुंगानाद्वारा शपथ ग्रहण

तु खबर संवाददाता
२०७९ पुष १३, बुधबार १६:१३

मकवानपुर । बागमती प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समारोहबीच ढुंगानाले पद तथा गोपनीताको शपथ ग्रहण गरेका हुन् ।

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८२ को उपधारा (५) बमोजिम ज्येष्ठ सदस्य ढुंगानालाई प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन¸ २०७५ को दफा २४ को उपदफा (१) बमोजिम पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

ढुंगाना गत मंसिर ४ मा सम्पन्न प्रत्यक्षतर्फ निर्वाचनमा बागमती प्रदेशसभा सदस्यका लागि नुवाकोट जिल्लाको क्षेत्र नं. २ (१) बाट निर्वाचित भएका हुन् । उनी नेकपा माओवादी केन्द्रको तर्फबाट प्रदेशसभाको प्रत्यक्षतर्फबाट निर्वाचन भएका हुन् ।

ढुंगानाले आज शपथ ग्रहण गरेपश्चात प्रदेशका अन्य १०९ जना नवनिर्वाचित सदस्यहरुलाई पुस १४ गते अर्थात भोलि बिहीबार शपथ ग्रहण गराउने कार्यसूची रहेको छ ।