शपथ ग्रहणका लागि शीतल निवास पुगे प्रचण्ड

तु खबर संवाददाता
२०७९ पुष ११, सोमबार १६:१२
file-photo

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पद तथा गोपनीयताको शपथ लिन राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । उनी दौरा सुरुवाल लगाएर शपथ लिन पुगेका छन् ।

प्रचण्डसँगै राष्ट्रपति भवन शीतल निवासमा ८ जनाले शपथ लिने तय भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । उनका अनुसार, तीन उपप्रधानमन्त्रीमा रास्वपाका अध्यक्ष समेत रहेका रवि लामिछाने गृहसहित उपप्रधान, एमालेका उपाध्यक्ष विष्णु पौडेल अर्थसहित उपप्रधान र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उपसहित परराष्ट्रको जिम्मेवारी पाउने भएका हुन् ।

अन्य मन्त्रीहरु भने विनाविभागीय हुने बताइएको छ । शीतल निवासमा पठाइएको सूचीअनुसार प्रधानमन्त्रीसहित माओवादीबाट २ जना, एमालेबाट ४ जना, राष्ट्रिय स्वतन्त्र पार्टीबाट १ जना तथा जनमत पार्टीबाट १ जना मन्त्री बन्नेछन् । उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गराउने भएकी हुन् ।