यातायात पूर्वाधार निर्देशनालय हेटौंडाले समयमा काम पूरा नगर्ने कम्पनीसँग ठेक्का तोड्यो

तु खबर संवाददाता
२०७९ पुष ११, सोमबार ११:०६

मकवानपुर । बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालय, हेटौंडाले तोकिएको समयमा सडक निर्माणको काम पूरा नगर्ने निर्माण कम्पनीसँग ठेक्का तोडेको छ ।

निर्माण कम्पनी सप्तकोसी जलाधार–ओम साई एन्ड कम्पनी जेभी काठमाडौँसँग सडक ढलान र कालोपत्रे गर्ने निर्माण सम्झौता भएकोमा ढलानको काम सम्पन्न गरी कालोपत्रेको काम अलपत्र पारेपछि निर्देशनालयले निर्माण कम्पनीसँग ठेक्का तोडेको हो ।

सडक ढलान र कालोपत्रेको काम सात करोड ७८ लाख २९ हजार आठ सय रुपियाँको लागतमा २०७८ मंसिर २२ सम्ममा सम्पन्न गर्ने गरी २०७७ मंसिर ८ गते निर्देशनालय र निर्माण कम्पनीबीच सम्झौता भएको थियो । हेटौंडा उपमहानगरपालिका वडा नं.५, १०, ११, १२ र १४ का विभिन्न स्थानमा ढलानको काम रहेकोमा निर्माण कम्पनीले उक्त काम सकेर भुक्तानीसमेत लगेको निर्देशनालयका प्रवक्ता हरिप्रसाद ओझाले जानकारी दिए ।

सडक ढलानबापत ४ करोड १७ लाख रुपियाँभन्दा बढी निर्माण कम्पनीले भुक्तानी लगेको र निर्माण कम्पनीले हेटौंडा– २, ४ र १० मा सडक कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता गरे पनि म्याद थप गरेको समयमा समेत निर्माण गर्छु भन्दै नगरी पटक–पटक ठेक्का सम्झौता उल्लङ्घन गरेको उनले बताए ।

निर्देशनालयले ठेक्का तोड्दै उक्त निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रियासमेत सुरु गरेको छ । निर्माण कम्पनीले हेटौंडा–४ मा कालोपत्रे गर्न बेस र प्राइमको काम गरे पनि बीचमै छाडेको थियो ।