प्रधानमन्त्रीमा दावी पेश गर्न राष्ट्रपति निवास पुगे प्रचण्ड
काठमाडौं । प्रधानमन्त्रीमा दावी गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपछि निवास पुगेका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहितका दलका नेताहरुसहित उनी राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् ।
राष्ट्रपति कार्यालयले प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्तावसहित प्रतिनिधिसभाका बहुमत सदस्यहरुको पत्र दर्ता भएको जनाएको छ । राष्ट्रपति कार्यालयका प्रेस विज्ञ टीका ढकालका अनुसार, माओवादी केन्द्र सहित एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीका सांसदहरुको हस्ताक्षर सहितको पत्र आइपुगेको हो ।
त्यसैगरी जनता समाजवादी पार्टीको पत्रको केहीबेरमा आइपुग्ने उनले बताए । पत्रसहित सम्बन्धित नेताहरु राष्ट्रपटि कार्यालय पुगेको र पत्र हेरेपछि राष्ट्रपतिले प्रधानमन्त्रीको नियुक्ति र शपथ ग्रहणको मिति तय गर्ने उनले बताए । सम्भवतः ५ बजेभित्र केही विज्ञप्ति आउने र आज नै शपथ ग्रहण हुने उनको भनाई छ ।
