बागमती प्रदेश प्रमुख शर्माद्वारा राजेन्द्र पाण्डेको राजीनामा स्वीकृत

तु खबर संवाददाता
२०७९ पुष ८, शुक्रबार १६:२०

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको राजीनामा स्वीकृत गरेका छन् ।

संघीय संसदमा निर्वाचिन भएर शपथ ग्रहण गरेसँगै पाण्डेले शुक्रबार प्रदेश प्रमुख शर्मा समक्ष पेश गरेको राजीनामा नेपालको सविधान बमोजिम स्वीकृत भएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार, प्रदेश प्रमुख शर्माले मुख्यमन्त्रीको राजीनामा स्वीकृत गरिएको भएपनि प्रदेशको अर्को सरकार गठन नभएसम्मका लागि मौजुदा मन्त्रीपरिषद्ले नै आफ्नो कार्यभार सम्हालिरहन निर्देशनसमेत दिएका छन् ।

पाण्डेले गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा धादिङको निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य पदनमा निर्वाचित भई बिहीबार प्रतिनिधिसभा सदस्य पदको शपथ ग्रहण गरेका थिए ।

पाण्डेले २०७८ कार्तिक ११ गतेदेखि प्रदेशको मुख्यमन्त्रीको रुपमा जिम्मेवारी सम्हालेका थिए । पाण्डे नेकपा एकीकृत समाजवादीको केन्द्रीय उपाध्यक्षसमेत हुन् ।

पाण्डेभन्दा पहिले बागमतीमा नेकपा एमालेका डोरमणि पौडेल पहिलो र अष्टलक्ष्मी शाक्य दोस्रो मुख्यमन्त्री भएका थिए । पाण्डेले प्रदेश प्रमुख समक्ष राजीनामा दिएसँगै नयाँ सरकार गठनको प्रक्रिया खुल्ला भएको छ ।