हेटौंडाका युवक पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले बुधबार साँझ अवैध लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ तिनताप्केस्थित भित्री सडकखण्डबाट लागूऔषधसहित एक जना युवकलाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा स्थानीय २१ वर्षीय अबिन थिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार, थिङलाई विशेष सूचनाको आधारमा पुगेको मकवानपुरका प्रहरी निरीक्षक बिक्रम खड्का मगर र विशेष प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो ।
बुधबार साँझ साढे ६ बजेको समयमा उक्त स्थानमा शंकास्पद अवस्थामा पैदल हिडिरहेका थिङलाई नियन्त्रनमा लिई चेकजाँच गर्दा निजले बोकेको झोलाबाट लागूऔषध नुरफिन ५० एम्पुल, डाईजोपाम ५० एम्पुल, फेनारगन ५० एम्पुल बरामद भएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
सो क्रममा थिङसँगै रहेका स्थानीय ३४ वर्षीय प्रताप घलान भने प्रहरीलाई देख्ना साथ भागेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । उनका अनुसार, प्रहरीलाई देख्नासाथ फरार रहेका घलानको घरको शौचालयमाथि लुकाईछिपाई राखेको लागूऔषध नुरफिन ५४ एम्पुल, डाईजोपाम ६३ एम्पुल, फेनारगन ५७ एम्पुल बरामद भएको छ ।
प्रहरीले फरार रहेका घलानको खोजतलास गर्नुका साथै पक्राउ परेका थिङमाथि आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
