भु–स्वामित्व खोज्दै घट्टेखोलाका चेपाङ
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्वर ३ घट्टेखोलाका चेपाङहरुले आफुहरुले भोगचलन गर्दै आएको जमिनको स्वामित्व पाउँ भन्दै मंगलबार जिल्ला समन्वय समिति मकवानपुरसमक्ष आग्रह गरेका छन् ।
घट्टेखोलामा बसोबास गर्दै आएको २९ घरधुरी चेपाङहरुलाई तत्कालिन नेपाल सरकारले दिएको र उनीहरुले विगत ३१ वर्षदेखि भोगचलन गर्दै आएको जमिन माथी स्वामित्व पाउँ भन्दै रामचन्द्र प्रजाको नेतृत्वमा भूमिहिन चेपाङ खाद्य अधिकार समूहको टोलीले जिसस मकवानपुरका प्रमुख ललितबहादुर घलान, उप–प्रमुख सानुकाजी लुईटेल, जिल्ला समन्वय अधिकारी सुनिता कुमारी गजुरेललाई भेटेर उक्त अनुरोध गरेका हुन् ।
तत्कालिन राक्सिराङ–५, ८ र ९ (हालको राक्सिराङ–३, घट्टेखोला) तत्कालिन जिल्ला विकास समिति मकवानपुर र प्रजा विकास कार्यक्रमको पहलमा स्थान्तरण गरिएको ९ घरधुरी चेपाङहरुको हाल परिवार संख्या बढेर २९ घरधुरी भएको उनीहरुले जानकारी गराए ।
घट्टेखोलामा स्थान्तरण गर्दा नम्बरी जग्गा व्यक्तिबाट किनेर स्थान्तरण गरिएको थियो भने जग्गा किन्ने श्रोतको जोहो तत्कालिन जिल्ला विकास समितिको समन्वयमा नेपाल सरकारले गरेको थियो भने तत्कालिन अवस्थामा जग्गाको स्वामत्वि समेत जिल्ला विकास समितिकै रहेको थियो ।
भेटको क्रममा जिसस प्रमुख घलानले जिल्ला समन्वय समितिले चेपाङहरुलाई गर्नुपर्ने सहयोगमा कुनै कमी नहुने प्रतिवद्धता जनाए । उनले जिल्ला र प्रदेशमा सम्बन्धित निकायसँग गर्नुपर्ने सहजीकरणमा समेत पूर्ण सहयोग र समर्थन रहने बताए ।
फियान नेपालको प्रदेश संयोजक लक्ष्मी गुरूङ्गले सहजीकरण गरेको भेटघाट कार्यक्रममा जिल्ला खाद्य अधिकार सञ्जालको सह–संयोजक डा. सम्राट तुम्बाहाङफे, भूमि समस्या समाधान आयोग (मकवानपुर) को विज्ञ सदस्य र स्थानीय अगुवा कृष्ण योञ्जनको उपस्थिति रहेको थियो ।
