सामान्य विवादकै कारण महिलाको हत्या, मकवानपुरका रोज वाईबा पक्राउ

तु खबर संवाददाता
२०७९ मंसिर २७, मंगलवार १७:२८

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ३ सिस्नेरीस्थित ज्यामिरेमा गत मंसिर २४ गते एक जना महिलाको शव फेला पर्यो । उक्त शव स्थानीय अन्दाजी ३३ वर्षीया सरस्वती वाईबाको थियो ।

सरस्वती गत मंसिर १३ गतेदेखि बेपत्ता भएकी थिइन् । पत्नी बेपत्ता भएपछि पति वीरबहादुर वाइबाले मंसिर २३ गते खोजतलास गर्न प्रहरी चौकी सिस्नेरीमा निवेदन दिएका थिए ।

मृतकका पति र प्रहरी टोली समेतले खोजतलास गर्दै जाने क्रममा मंसिर २४ गते शनिबार साँझ ७ बजेर ३० मिनेटको समयमा ज्यामिरेस्थित शरिरमा लगाएको थोरै लुगा र टाउँको देखिने गरी स्थानीय रोज वाईबाको बारीमा गाडिएको अवस्थामा सरस्वतीको शव फेला परेको पर्यो ।

तत्काल इलाका प्रहरी कार्यालय भीमफेदी मकवानपुरबाट प्रहरी निरीक्षक प्रतिमा कार्कीको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेर घटनास्थल सुरक्षित राखेको थियो ।

त्यसको भोलिपल्ट आइतबार जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट तालिम प्राप्त कुकुरसहित अनुसन्धान अधिकृत प्रहरी निरीक्षक रामचन्द्र घिमिरेको कमाण्ड पनि घटनास्थल पुग्यो । घटनास्थल पुगेको प्रहरी चौकी सिस्नेरी, इलाका प्रहरी कार्यालय भीमफेदी र जिल्ला प्रहरी कार्यालय टोलीले संयुक्त रुपमा अनुसन्धान थालियो ।

प्रहरीले घटनास्थल हेर्दा सरस्वतीको हत्या भएको र उक्त घटनामा संलग्न रहेको आरोपमा आईतबार केही व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान थालियो । अनुसन्धानकै क्रममा पक्राउ परे ३३ वर्षीय रोज वाईबा । जो सरस्वतीको हत्यारा थिए ।

प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका रोज वाईबालाई सोधपुछ गर्न थालियो । सोधपुछको क्रममा रोज आफैंले सरस्वतीलाई मारेर आफ्नै बारीमा खाल्डो खनी पुरेको हो भनि प्रहरी समक्ष स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रहरी समक्षको बयानमा रोजले भने, ‘घटना मंसिर १३ गतेको हो । म बाटोमा जाँदै थिए । उही बेला सरस्वती बाटोमा भेट भयो । मेरो र सरस्वतीबीच सामान्य भनाभन भयो । सोही क्रममा हाम्रो कुटाकुट पनि भयो । कुटपिटको क्रममा सरस्वती ढुंगामा ठोक्किन पुग्यो र उनको त्यही मृत्यु भयो । अनि मैले आफ्नै बारीमा खाल्टो खनेर गाडिदिए ।’

हत्यामा संलग्न रोज वाईबा र मृतक सरस्वती छिमेकी हुन् । उक्त घटनाको बारेमा प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

पक्राउ परेका वाईबालाई जिल्ला अदालत मकवानपुरबाट ७ दिनको म्याद थप गरी घटनाको बारेमा आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।