मकवानपुरका साहित्यकार तुलसी थापा नगदसहित सम्मानित

तु खबर संवाददाता
२०७९ मंसिर १८, आईतवार ०९:३४

मकवानपुर । बुढ्यौली साहित्य समाज मकवानपुरले वरिष्ठ साहित्यकार तुलसी थापालाई नगद रकमसहित सम्मान गरेको छ । समाजको दोस्रो वार्षिक उत्सवको अवसरमा साहित्यकार थापालाई नगद २ लाख रुपैयाँसहित सम्मान गरिएको हो ।

जिल्लामा रही लामो समयदेखि शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा पुर्याएको योगदानका थापालाई मकवानपुरका १७ वटा साहित्यिक संघ, संस्थाले संयुक्तरुपमा अभिनन्दन गरेको आयोजक संस्थाका अध्यक्ष आरसी रिजालले जानकारी दिए ।

थापालाई कार्यक्रमका प्रमुख अतिथि एवम् जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष ललित घलान र विशिष्ट अतिथि व्यंग्यकार एवं एजिङ नेपालका अध्यक्ष कृष्णमुरारी गौतम ‘चट्याङ मास्टर’ले दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

उक्त अवसरमा भक्तपुरका साहित्यकार कविराज घिमिरेको ‘बुढ्यौली’ खण्डकाव्यसमेत विमोचन गरिएको थियो । सो अवसरमा बुढ्यौली साहित्य समाज मकवानपुरले साहित्यकार तुलसी थापाको नाममा २ लाख रुपैयाँको अक्षयकोषसमेत स्थापना गरेको समाजका अध्यक्ष रिमालले बताए ।

उनका अनुसार, कोषबाट प्राप्त हुने ब्याज रकमले प्रत्येक वर्ष मकवानपुरमा रही साहित्य क्षेत्रमा कलम चलाउने एक साहित्यकारलाई सम्मान गरिनेछ ।