हेटौंडा–१३ स्थित तातोपानी जाने बाटो स्ल्याब ढलान
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३ स्थित तातोपानी जाने बाटोको स्ल्याब ढलान गरिएको छ । उक्त स्थानमा ७४ मिटर लम्बाई र ६ मिटर चौडाई स्ल्याब ढलान शुक्रबार सम्पन्न गरिएको हो ।
उक्त स्ल्याब ढलानको उद्घाटन हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३ का अध्यक्ष पेम्बा लामाले गरेका हुन् । सो क्रममा वडाध्यक्ष लामाले आफ्नो वडाका बाटोको स्ल्याब ढलान र आवश्यकता अनुसार चौडा गर्ने कार्यमा आफु जुटिरहेको र आगामी दिनमा पनि सक्दो लागि पर्ने बताए ।
हेटौंडा उपमहानगरपालिकाको ६ लाख रुपैयाँ, तातोपानी इनार जाने बाटो निर्माण उपभोक्ता समितिको ७६ हजार २३ रुपैया ४९ पैसा र स्थानीयको ७५ हजार ११३ रुपैयाँ ७० पैसा गरी ७ लाख ५१ हजार १३७ रुपैयाँ ९ पैसामा स्ल्याब ढलान निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष सानुकान्छा दोङले जानकारी दिए ।
