युट्युव मार्फत अश्लिता फैलाउने कार्यमा संलग्न हेटौंडाका खड्का पक्राउ

तु खबर संवाददाता
२०७९ मंसिर १६, शुक्रबार ०९:०८
सांकेतिक तस्बिर

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय साइबर व्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले युट्युव मार्फत अश्लिता फैलाउने कार्यमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–४ हुप्रोचौर बस्ने २० वर्षीय प्रतिक भन्ने नविन खड्का रहेका छन् । उनलाई साइबर व्यूरो भोटाहिटीले जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहयोगमा मंगलबार पक्राउ गरेको जनाइएको छ ।

प्रहरीका अनुसार, खड्कालाई प्रतिनिधी सभा तथा प्रदेश सभा सदस्य निर्वाचन सुरक्षार्थ खटाईएका म्यादी प्रहरीको सन्दर्भमा भिडियो साझेदारी सेवा युट्युव मार्फत विभिन्न आक्षेप तथा लान्छना लगाई समाजमा अपाच्य हुने शव्दहरुको प्रयोग गरी नकारात्मक सन्देश प्रवाह गर्ने र निर्वाचनमा खटिएका सुरक्षाकर्मीको चरित्रमा समेत दाग लगाउने खालको श्रव्यदृश्य बनाई युट्युव तथा फेसबुकमार्फत प्रसारण गर्ने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीमाथि जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाइएको छ ।