दोलखाका १० मतदान केन्द्रमा पुनः मतदान सुरु
दोलखा । दोलखाका १० वटा मतदान केन्द्रमा आज पुनः मतदान सुरु भएको छ । बुथ कब्जा भएको भन्दै विवाद हुँदा स्थगित भएको मतदान आज बिहान ७ बजेदेखि सुरु भएको हो ।
साँझ ५ बजेसम्म संचालन हुने उक्त मतदान केन्द्रमा कुल ८ हजार ५१४ मतदाता रहेका छन् । निर्वाचन आयोगको मंसिर ११ गतेको बैठकले यी क्षेत्रमा पुनः मतदानको निर्णय गरेको थियो ।
जिल्लाको वैतेश्वर गाउँपालिका–६ वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’, वैतेश्वर गाउँपालिका–२ जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्र ‘क’ र ‘ख’ र तामाकोशी गाउँपालिका ३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्र ‘क’ र ‘ख’, वैतेश्वर गाउँपालिका३ कालिढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’ मा पुनः मतदान हुन लागेको हो ।
