मकवानपुरमा डेंगु संक्रमितको संख्या ५७५९ पुग्यो
मकवानपुर । मकवानपुरमा डेंगु संक्रमितको संख्या ५ हजार ७५९ जना पुगेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप १४ जना डेंगु संक्रमितको बिरामी थपिएसँगै संक्रमितको संख्या ५ हजार ७५९ जना पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार, उक्त तथ्याङ्क गत साउन महिनादेखि मंगलबारसम्मको हो । जसमा ३ हजार १५५ जना पुरुष र २ हजार ६०४ जना महिला रहेका छन् ।
जिल्लाको १० स्थानीय तहमध्ये सबैभन्दा धेरै डेंगु संक्रमित हेटौंडा उपमहानगरपालिकामा रहेका छन् । जसअनुसार, हेटौंडा उपमहानगरपालिकामा २ हजार ३७४ जना पुरुष र १ हजार ९२८ जना महिला गरी ४ हजार ३०२ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यस्तै, डेंगु संक्रमण पुष्टि हुनेमा मनहरी गाउँपालिकामा ५२८ जना पुरुष र ४८३ जना महिला गरी १ हजार ११ जना, थाहा नगरपालिकामा १०८ जना पुरुष र ६७ जना महिला गरी १७५ जना, मकवानपुरगढी गाउँपालिकामा ४५ जना पुरुष र ३२ जना महिला गरी ७७ जना, बागमती गाउँपालिकाका ४ जना पुरुष र ४ जना महिला गरी ८ जना रहेका छन् ।
यसैगरी, इन्द्रसरोवर गाउँपालिकाका एक जना पुरुष र २ जना महिला गरी ३ जना, कैलाश गाउँपालिकाका ५ जना पुरुष र ३ जना महिला गरी ८ जना, भीमफेदी गाउँपालिकामा २४ जना पुरुष र २४ जना महिला गरी ४८ जना, बकैया गाउँपालिकामा १७ जना पुरुष र २८ जना पुरुष गरी ४८ जना, राक्सिराङ गाउँपालिकमा १९ जना पुरुष र ६ जना महिला गरी २४ जना, हाल ठेगाना नखुलेका १६ जना पुरुष र १७ जना महिला गरी ३३, अन्य जिल्लाका १४ जना पुरुष र १० जना महिला गरी २३ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार, जिल्लामा उक्त संक्रमणका कारण हालसम्म एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिकाका रहेका छन् ।
