सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ मंसिर १०, शनिबार १७:०३

काठमाडौं । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको छ । कैलालीको जोशिपुर गाउँपालिका–१ बडहरियास्थित सडकमा से।५ प ३९७७ नम्वरको मोटरसाइकलको ठक्करबाट सोही गाउँपालिका–१ बडहरिया बस्ने ७० वर्षीय छल्लुराम चौधरीको शुक्रबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी, शुक्रबार नै कैलालीको जोशिपुर गाउँपालिका–१ बडहरियास्थित सडकमा से १ त ४१८० नम्वरको ट्याक्टरले बा ४९ प ३१७९ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा टिकापुर नगरपालिका–४ बस्ने ३२ वर्षीय राम कुमार चौधरी रहेका छन् । ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका उनको टिकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर र चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यस्तै, सिरहाको बरियारपट्टी गाउँपालिका–१ नरगीस्थित सडकमा स २ प ५१३४ नम्वरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ३२ वर्षीय शंकर यादव रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो ।

त्यस्तै, तनहुँको घिरिङ गाउँपालिका–१ जगौलिटारस्थित सडकमा लु ३९ प ५०९७ नम्वरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–१ पुटार बस्ने २२ वर्षीय सुनिल दरै रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको सेतीगंगा अस्पताल बेलचौतारामा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै, कास्कीको पोखरा महानगरपालिका–११ रानीपौवास्थित सडकमा ग १९ प ४०८७ नम्वरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार पर्वत बिहादी गाउँपालिका घर भई पोखरा महानगरपालिका–११ रानीपौवा बस्ने १९ वर्षीय सञ्जय सुनार रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रिय अस्पताल गण्डकीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै उक्त दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पताल हुँदै थप उपचारको लागि गण्डकी मेडिकल कलेज रिफर गरिएको छ ।

यसैगरी, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ स्थित सडकमा से २ त २४७९ नम्वरको ट्याक्टरको ठक्करबाट साइकलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।