बैतडी जीप दुर्घटना अपडेट : मृतक ४ जनाको सनाखत

तु खबर संवाददाता
२०७९ मंसिर ५, सोमबार ११:५२
File Photo

बैतडी । बैतडीमा जिप दुर्घटनामा परेर मृत्यु हुने ४ जनाको सनाखत भएको छ । जिल्लाको दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका–४ निङ्लाडी खोलामा आज बिहान भएको से १ ज ८५४ नम्वरको जिप दुर्घटनामा परेर मृत्यु भएका ४ जनाको सनाखत भएका प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरुमा प्रहरी सहायक हवल्दार अर्जुन कठायत, प्रहरी जवान रमेश साउद, प्रहरी जवान लोकबहादुर बाठा मगर र जवान झिर्कबहादुर विष्ट रहेका छन् ।

उक्त दुर्घटनामा परेर ९ जना प्रहरी घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, जिल्ला सदरमुकाममा मतपेटीका पुर्याएर फर्कदै गरेको उक्त जिप सडकबाट करिब ३ सय मिटर तल खसेको थियो ।

गम्भीर घाइते मध्ये दुई जनालाई उपचारका लागी नेपालगन्ज ल्याइएको छ । बैतडीको पाटन स्थित स्थानीय मेडिकलमा ७ जनाको उपचार हुँदैछ । सो जिपमा १३ जना सवार थिए ।