दुर्घटनामा परेर २ जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ मंसिर ५, सोमबार १०:५७

काठमाडौं । काठमाडौंको बालाजु र चाबहिलमा भएका छुट्टाछुट्टै दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । बालाजुको गंगा फिल्म हल नजिक गएराति बा ४२ प ९९४५ नम्वरको मोटरसाइकलले ठक्कर दिंदा एक जना पैदल यात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, मृतक पुरुषको सनाखत हुन बाँकी छ । मोटरसाइकल चालक भने फरार छन् । उनको खोजी कार्य हुनुका साथै घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

यसैगरी, गएराति नै चाबहिलमा बा १ ग २०८९ नम्वरको ट्रक र बा ३९ प ११५६ नम्वरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाका २५ वर्षीय छिरिङ शेर्पा रहेका छन् । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।