सुतेकै ठाउँमा मृत फेला परे मतदान अधिकृत

तु खबर संवाददाता
२०७९ मंसिर ३, शनिबार १५:२८
सांकेतिक तस्वीर

सोलुखुम्बु । सोलुखुम्बुमा एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेका छन् । जिल्लाको नेचासल्यान गाउँपालिका–४ स्थित फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय आज बिहान सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

सोलुखुम्बु प्रहरीका अनुसार, मतदान केन्द्रमै सुतेका रायलाई बिहान ४ बजे अन्य कर्मचारीले उठाउन जाँदा ओछ्यानमै मृत फेला पारेका थिए ।

घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी घटनास्थलमा खटिएको छ । सर्लाही हरिपुर्वा नगरपालिका–५ स्थायी ठेगाना भएका राय आयुर्वेद स्वास्थ्य केन्द्र नेचामा कार्यरत थिए ।

उनले लामो समयदेखि सुगर र मुटुको औषधि प्रयोग गर्दै आएका खुलेको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लु पठाइएको र घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।