मकवानपुरमा डेंगु संक्रमितको संख्या ५६६२ पुग्यो

तु खबर संवाददाता
२०७९ मंसिर १, बिहीबार १६:३०

मकवानपुर । मकवानपुरमा डेंगु संक्रमितको संख्या ५ हजार ६६२ जना पुगेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप १४ जना डेंगु संक्रमितको बिरामी थपिएसँगै संक्रमितको संख्या ५ हजार ६६२ जना पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार, उक्त तथ्याङ्क गत साउन महिनादेखि बिहीबारसम्मको हो । जसमा ३ हजार १२१ जना पुरुष र २ हजार ५४१ जना महिला गरी ५ हजार ६६२ जना महिला रहेका छन् ।

जिल्लाको १० स्थानीय तहमध्ये सबैभन्दा धेरै डेंगु संक्रमित हेटौंडा उपमहानगरपालिकामा रहेका छन् । जसअनुसार, हेटौंडा उपमहानगरपालिकामा २ हजार ३६३ जना पुरुष र १ हजार ९०५ जना महिला गरी ४ हजार २६८ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै, डेंगु संक्रमण पुष्टि हुनेमा मनहरी गाउँपालिकामा ५०८ जना पुरुष र ४५० जना महिला गरी ९५८ जना, थाहा नगरपालिकामा १०८ जना पुरुष र ६७ जना महिला गरी १७५ जना, मकवानपुरगढी गाउँपालिकामा ४५ जना पुरुष र ३० जना महिला गरी ७५ जना, बागमती गाउँपालिकाका ४ जना पुरुष र ३ जना महिला गरी ७ जना रहेका छन् ।

यसैगरी, इन्द्रसरोवर गाउँपालिकाका एक जना पुरुष र २ जना महिला गरी ३ जना, कैलाश गाउँपालिकाका ५ जना पुरुष र ३ जना महिला गरी ८ जना, भीमफेदी गाउँपालिकामा २४ जना पुरुष र २४ जना महिला गरी ४८ जना, बकैया गाउँपालिकामा १६ जना पुरुष र २७ जना पुरुष गरी ४३ जना, राक्सिराङ गाउँपालिकमा १८ जना पुरुष र ६ जना महिला गरी २४ जना, हाल ठेगाना नखुलेका १५ जना पुरुष र १४ जना महिला गरी २९, अन्य जिल्लाका १४ जना पुरुष र ८ जना महिला गरी २२ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार, जिल्लामा उक्त संक्रमणका कारण हालसम्म एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिकाका रहेका छन् ।