हेटौंडा उपमहानगरपालिकाको ७५ प्रतिशत बजेट मात्र खर्च
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०७८/७९ मा विनियोजित रकमको ७५ प्रतिशत मात्र खर्च गरेको छ । उपमहानगरपालिकाको कुल रु २ अर्ब ९१ करोड ९३ लाख बजेट रहेकामा रु २ अर्ब २० करोड ५२ लाख खर्च भएको छ ।
गत आर्थिक वर्षमा सो पालिकाको रु १ अर्ब ३० करोड १७ लाख बजेट रहेकामा रु १ अर्ब ३० करोड १७ लाख मात्र खर्च गरेको उपमहानगरपालिकाले जनाएको छ । त्यस्तै, पूँजीगततर्फ रु १ अर्ब ६१ करोड १५ लाख बजेट रहेकामा रु १ अर्ब ८ करोड ३७ लाख खर्च भएको छ । हेटौंडा उपमहानगरपालिकाले आव २०७८÷७९ मा आन्तरिकतर्फ रु २८ करोड ४२ लाख ८२ हजार राजस्व सङ्कलन गरेको छ ।
विभिन्न सिफारिस दस्तुरवापत रु २ करोड ८८ लाख र नक्सापास दस्तुरवापत रु २ करोड ३७ लाख र व्यवसाय करवापत रु १ करोड ७९ लाख ४४ हजार राजस्व सङ्कलन गरेको छ । साथै १९ वडाबाट रु पाँच करोड ३२ लाख राजस्व सङ्कलन तथा नदीजन्य पदार्थको बिक्रीबाट रु चार करोड ३० लाख राजस्व सङ्कलन गरेको छ ।
हालसम्म उपमहानगरपालिकाले आवको अन्त्यसम्ममा २५ ऐन, चार नियमावली, २९ कार्यविधि र १४ निर्देशिका तयार गरिसकेको जनाएको छ । समाज कल्याण शाखाअन्तर्गत ४५.५८ प्रतिशत वित्तीय प्रगति भएको छ । यसका लागि रु १ करोड २१ लाख बजेट विनियोजन भएकामा रु ५५ लाख ३८ हजारमात्र खर्च भएको छ ।
