आयोगले सोध्यो बागमती प्रदेशका मुख्यमन्त्री र प्रमुख सचिवलाई स्पष्टीकरण
मकवानपुर । बागमती प्रदेश सरकारले ‘प्रदेश हस्तकलाग्राम स्थापना तथा संचालनको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्याधेश र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेको विषयमा निर्वाचन आयोगले बागमती प्रदेशका मुख्यमन्त्री र प्रमुख सचिवलाई स्पष्टीकरण सोधेको छ ।
निर्वाचन आचारसंहिता, २०७९ लागू भइसकेपछि पनि अध्यादेश जारी गरेको विषयमा निर्वाचन आयोगले मुख्यमन्त्री राजेन्द्र पाण्डे र प्रमुख सचिवलाई स्पष्टीकरण सोधेको हो ।
आयोगले पत्र प्राप्त भएको समयले २४ घण्टाभित्र निर्वाचन आयोगमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न निर्देशनसमेत दिएको छ ।
बागमती प्रदेश सरकारले मिति २०७९ असोज ३० मा ‘प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ र ‘प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ जारी गरेको थियो ।
आयोगले प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई उक्त अध्यादेश राजपत्रमा प्रकाशित नगर्नसमेत निर्देशन दिएको छ ।
