विरोध खतिवडामाथि अभद्र व्यवहार, हेटौंडाका खड्का प्रहरीको नियन्त्रणमा
मकवानपुर । मकवानपुर निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार विरोध खतिवडामाथि मंगलबार अभद्र व्यवहार भएको छ । लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार बनेका खतिवडामाथि जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ४ मसिनेमा चुनावी सभामा जाने क्रममा अभद्र व्यवहार भएको हो ।
पूर्व स्वास्थ्यमन्त्री एवम् एकीकृत समाजवादीका नेता समेत रहेका खतिवडालाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले खतिवडालाई अभद्र व्यवहार गर्ने हेटौंडा उपमहानगरपालिका–२ का अन्दाजी ५५ बर्षीय पुरुषोत्तम खड्कालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
खड्काले खतिवडालाई गाडीबाट ओर्लनेबित्तिकै अभद्र व्यवहार गरेका थिए । नियन्त्रणमा लिएको खड्कामाथि प्रारम्भिक अनुसन्धान गर्दा मादक पदार्थ सेवन गरेको पाइएको र पुरानो रिसइबी समेत रहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
