इन्द्रसरोवरका थिङ भीमफेदीमा मृत फेला

तु खबर संवाददाता
२०७९ कार्तिक २२, मंगलवार ०९:५७

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर ८ कोगटेस्थित दोभान खोलामा सोमबार साँझ एक जना मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ३ काप्राङ बस्ने अन्दाजी ५७ वर्षीय संचार थिङ उक्त स्थानमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, थिङको शव ढुंगाको काप्चामा सडेको अवस्थामा मृत  फेला परेका हुन् ।

मृतक थिङ गत कात्तिक २ गते आफुखुसी घरबाट निस्की बेपत्ता भएका थिए । उनी सो दिनदेखि बेपत्ता भएपनि खोजतलासको लागि प्रहरीमा उजुरी नपरेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

मृतकको छोराले कपडाको आधारमा शवको पहिचान गरेका हुन् । उनको शव पोष्टमार्टमको लागि हेटौंडामा ल्याइएको र घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।