इन्द्र बानियाँलाई खुसीलाल प्रजाको समर्थन

तु खबर संवाददाता
२०७९ कार्तिक १५, मंगलवार २०:०४

मकवानपुर । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर–२ को प्रदेशसभा (ख) मा स्वतन्त्र उम्मेदवारी दिएका खुसीलाल प्रजाले लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार इन्द्रबहादुर बानियाँलाई सघाउने भएका छन् ।

नेकपा माओवादी केन्द्रको राजनीतिमा सक्रिय रहेका प्रजाले उम्मेदवार छनौट प्रक्रियामा असहमति जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
चेपाङ संघ बागमती प्रदेशको अध्यक्षसमेत रहेका प्रजाले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै आगामी निर्वाचनमा आफ्नो पूर्ण साथ समर्थन गठबन्धनका उम्मेदवार बानियाँलाई रहेको स्पष्ट पारे ।

आफ्नो उम्मेदवारीले नेकपा माओवादी केन्द्रको नेतृत्वमा प्राप्त गणतन्त्रजस्ता महत्वपूर्ण राजनीतिक उपलब्धीहरुमा गम्भीर क्षति पुग्ने, संविधानको हत्या गर्नेहरुलाई राजनीतिक लाभ हुने र समग्र लोकतान्त्रिक विधि र पद्धती माथि नै घात हुने देखिएकोले गठबन्धनका उम्मेदवारलाई सघाउने निष्कर्षमा पुगेको प्रजाले बताए ।

मेरो तर्फबाट इन्द्रबहादुर बानियाँज्यूलाई पूर्ण साथ समर्थन रहने हुनाले आम शुभचिन्तक र समर्थकहरुलाई पनि मेरो अभियानमा सहभागी भई गठबन्धनका साझा उम्मेदवार बानियाँको चुनाव चिन्ह रुखमा मतदान गरी अत्यधिक मतका साथ विजयी गराइदिन हुन अनुरोध गर्दछु ।’ प्रजाले भने ।

निर्वाचन आयोगमार्फत् आफ्नो उम्मेदवारी फिर्ता लिन प्राविधिक कारणले नमिल्ने भएपनि राजनीतिक रुपमा अब आफु उम्मेदवार नरहेको उनले बताए ।
सो अवसरमा गठबन्धनका उम्मेदवार बानियाँले मुलुकको समग्र विकास र संविधान तथा व्यवस्थाको रक्षाका लागि गठबन्धनले जित्नुपर्ने आवश्यकता रहेको औँल्याउँदै प्रजालाई धन्यवाद दिए ।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय नेता विरोध खतिवडा, माओवादी केन्द्रकी नेतृ कुमारी मोक्तान, नेता सर्केश घलानलगायतको रोहबरमा प्रजाले प्रेस विज्ञप्ती सार्वजनिक गरेका हुन् ।