एमाले नेता र नीति ठीक नभएको पार्टीले मुलुकलाई निकास दिँदैन : नेता बानियाँ
मकवानपुर । सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्वर २ को (ख) का उम्मेदवार ईन्द्रबहादुर बानियाँले नेकपा एमालेमा नेता र नीति ठीक नभएको भन्दै त्यस्तो पार्टीले मुलुकलाई निकास दिन नसक्ने बताएका छन् ।
शनिबार गठबन्धन दलको आयोजनामा मनहरी गाउँपालिकाको रजैयामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेता बानियनँले संविधानको रक्षा, संघीयता, धर्मनरपिक्षेता र प्राप्त उपलब्धिको रक्षाका लागि गठबन्धन भएको उल्लेख गर्दै गठबन्धनको जितले मात्रै मुलुकको विकास र समृद्धि सम्भव रहेको बताएका हुन् ।
पाँच दलको बिचमा गठबन्धन भएको तथा एमाले र राप्रपाको भने लठबन्धन भएको उनको आरोप थियो । ‘गठबन्धन देखि अत्तालिएर अहिले गणतन्त्र नमान्नेहरुको लठबन्धन भएको छ । केपी ओलीले देश टुक्राउँछु भन्ने सिके राउत र दमनकारी कमल थापालाई लिएर हिँडेका छन् । मंसिर ४ मा जनताले प्रतिगमनकारीलाई ठेगान लगाउनेछन्’, बानियाँले भने, ‘नेता र नीति ठीक नभएको पार्टीले मुलुकलाई निकास दिन सक्दैन त्यसकारण गठबन्धनका उम्मेदवारलाई मतदान गर्न अनुरोध गर्दछु ।’
नेपालका असली वामपन्थी पार्टीहरु अहिले कांग्रेससंगको लोकतान्त्रिक–वाम गठबन्धनमा समाहित भएको भन्दै उनले केपी बा प्रधानमन्त्री र डोरमणि काका मुख्यमन्त्री हुँदा एमालेका उम्मेदवार लालबहादुर र युवा भन्ने महेशले कति बजेट ल्याए ? भन्दै प्रश्न गर्न उनले आग्रह गरे ।
प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन चाहिने योग्यता नै थाहा नभएका एमालेका उम्मेदवारले अहिले गठबन्धनका उम्मेदवारलाई ‘टुरिष्ट’, ‘बृद्ध’ जस्तो आरोप लगाइरहेको भन्दै बानियाँले भने, ‘१३ जिल्लाको जोकोही नेता प्रदेशसभामा र जुनसुकै जिल्लाको भएपनि नेपालका जुनकुनै जिल्लामा गएर प्रतिनिधिसभामा उठ्न पाइन्छ भन्ने ति युवा नेतालाई जानकारी होस् । हामी नेपाली हौं, अझ मकवानपुरका हौं, मकवानपुरको सेवा गर्न राजनीतिमा लागेका छौं । २ नम्बर क्षेत्रको विकास गर्न आएका हौं ।’
जनताको अवस्था परिवर्तन गर्न गठबन्धन गरेको उल्लेख गर्दै उनले गठबन्धनकै पक्षमा मतदान गर्न अपिल गरे ।
