शुक्रबारदेखि प्लाष्टिकजन्य फूलको बिक्री वितरणमा रोक

तु खबर संवाददाता
२०७९ कार्तिक ३, बिहीबार १६:३६

काठमाडौं । वातावरण विभागले शुक्रबारदेखि प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात बिक्री वितरण रोक्न माइकिङ तथा अनुगमन गर्ने भएको छ । तिहार र छठको मुखमा सरकारले एक सूचना जारी गर्दै प्लाष्टिकजन्य फूलगुच्छाको आयात, बिक्री वितरणमा रोक लगाएको हो ।

वातावरण विभागका महानिर्देशक नारायण घिमिरेले प्लाष्टिकजन्य फूलगुच्छाको आयात, बिक्री वितरणमा रोक लगाएको सरकारले शुक्रबारदेखि नै बजारमा प्लाष्टिकजन्य फूल बेच्न र प्रयोग नगर्न माइकिङ गर्ने जानकारी दिए ।

उनले सरकारले गत साउनमा राजपत्रमा प्रकाशन गरेर प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात बिक्री, वितरण वा भण्डारणमा रोक लगाएको भन्दै बिहीबारको सूचनामार्फत सचेत गराएको बताए । उनले तिहार र छठ नजिकिएसँगै बजारमा प्लाष्टिकजन्य फूलमालाहरू बिक्री बढ्ने भएकाले बिक्रिवितरणमा रोक लगाउने सरकारको उद्देश्य रहेको बताए ।