माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ कार्तिक १, मंगलवार ०८:१९

रौतहट । रौतहटको कटहरिया नगरपालिका अन्तर्गत वडा २ जमुनिया गाउँमा माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु भएको छ । हिन्दुहरुको महान पर्व दीपावली र छठका लागि घर लिपपोत गर्न गाउँको उत्तरपट्टी माटो लिन गएकी स्थानीय ६५ वर्षीया मोहनी देवीको ढिस्कोले पुरिएर सोमबार साँझ मृत्यु भएको हो ।

माटो खन्ने क्रममा ढिस्कोले पुरिएर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनीसँगै बुहारी सुनिता कुमारी चौधरी समेत ढिस्कोले पुरिएर घाइते भएकी थिइन् । बुहारी सुनिता स्थानीय अस्पतालमा उपचार पछि खतरा मुक्त रहेका छन् ।

मृतकको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ केन्द्र चन्द्रनिगाहपुर पठाइएको तथा घटनाबारे अनुसंधान भैरहेको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ ।