बागमती प्रदेश योजना आयोगद्वारा कानूनी मस्यौदाहरू हस्तान्तरण
मकवानपुर । बागमती प्रदेश नीति तथा योजना आयोगले प्रदेश सरकारलाई विभिन्न ४ वटा कानूनी मस्यौदाहरू समाविष्ट गरिएको दस्तावेज हस्तान्तरण गरेको छ ।
योजना आयोगका उपाध्यक्ष डा. कृष्णराज पन्तले शुक्रबार एक कार्यक्रमबीच प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई उक्त कानूनी मस्यौदा हस्तान्तरण गरेका छन् ।
हस्तान्तरण गरिएका मस्यौदा दस्तावेजहरुमा प्रदेश नीति तथा योजना आयोग ऐन–२०७९, प्रदेश तथ्याङ्क व्यवस्थापन ऐन–२०७९, प्रदेश आयोजना बैँक दिग्दर्शन–२०७९, सङ्गठनात्मक संरचना र जनशक्ति प्रस्ताव रहेका छन् । डा. पन्तले मूख्यमन्त्री कार्यालयमा नै पुगेको कानूनी मस्यौदा हस्तान्तरण गरेका हुन् ।
उक्त मस्यौदाहरु गत भदौ ५ र ६ गते गण्डकी प्रदेशको नीति तथा योजना आयोगको आयोजनामा पोखरामा सम्पन्न सातै प्रदेशका योजना आयोगहरूको बैठकद्वारा पारित गरी तयार गरिएको थियो ।
मस्यौदा दस्तावेज हस्तान्तरण कार्यक्रममा बागमती प्रदेश सरकारका मन्त्रीहरू, प्रमुख सचिव, सचिव, आयोगका पदाधिकारीलगायतको सहभागीता रहेको थियो ।
