नक्कली चिकित्सक पक्राउ
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरबाट प्रहरीले एक जना नक्कली चिकित्सकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महातारा जाजरकोटको शिवालय गाउँपालिका वडा नम्बर १ का घर भई वीरेन्द्रनगर नगरपालिका–६ स्थित समाज डेन्टल केयर क्लिनिकका सञ्चालक २२ वर्षीय डिलबहादुर महतारा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
प्रहरीका अनुसार, वीरेन्द्रनगरकै एक महिला दाँत दुख्ने समस्या लिएर उनको क्लिनिकमा गएकी थिइन् । महताराले दुख्ने दाँत निकाल्नुपर्ने सुझाव दिएपछि उनी दाँत निकाल्न राजी भइन् । यद्यपि महताराले दुख्ने दाँतसहित अर्को दाँत पनि निकालि दिए ।
त्यसपछि महिलाले नक्कली डाक्टर भएको आशांकासहित प्रहरी कहाँ उजुरी दिएकी थिए । सोही उजुरीको आधारमा उनलाई पक्राउ गरी सोधपुछ गर्दा आफू चिकित्सक नभएको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
