मकवानपुरमा एकैदिन १५८ जना डेंगु संक्रमित थपिए
मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा १५८ जनामा डेंगु संक्रमितका बिरामी फेला परेका छन् । पुष्टि हुनेहरुमा सबैभन्दा धेरै हेटौंडा उपनगरपालिकाका रहेका छन् । त्यहाँ १४४ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
यसैगरी, मकवानपुरगढी गाउँपालिका ३ जना, मनहरी गाउँपालिकाका ५ जना, भीमफेदी र बकैया गाउँपालिकाका एक/एक जना र अन्य जिल्लाका ४ जनालाई डेंगु संक्रमण पुष्टि भएको हो ।
यससँगै जिल्लामा डेंगु संक्रमितको कुल संख्या ३ हजार ७६२ जना पुगेको छ । जसमध्ये २ हजार ११५ जना पुरुष र १ हजार ६४७ जना महिला रहेका छन् ।
जिल्लामा उक्त संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिकाका रहेका छन् ।
