नालामा खसेर एक जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ आश्विन २६, बुधबार १०:३०

रौतहट । चन्द्रपुर गौर सडकखण्ड अन्तर्गत जयनगर चौकस्थित निर्माणाधीन नालाको खाल्डोमा खसेर आज बिहान एक जनाको मृत्यु भएको छ । गौर चन्द्रपुर सडकखण्डको जयनगर हस्पिटल निर्माणाधीन कल्भर्टको खाल्डोमा खसेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा देवाही गोनाही नगरपालिका–३ देवाही निवासी रामएकबाल साह तेली रहेका छन् । घरबाट साईकल चढेर गौर जान लागेको तेली जयनगर हस्पिटल अगाडि अन्य गाडी संग साइड लिनेक्रममा खाल्डोमा खसेर मृत्यु भएको हो ।

घटना भएलगतै देवाही गोनाहीका पूर्व मेयर धर्मेन्द्र पटेल घटनास्थल पुगेर कल्भर्ट अधुरो छोडेका ठेकदारलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन स्थानीय प्रशासनसँग माग गरेका छन । मृतकका आफन्तहरु शवलाई बाटोमा राखेर क्षतिपूर्ति तथा कार्वाहीको माग गर्दै आन्दोलन गरिरहेका छन । घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएके छ ।