ट्रकले किच्दा एक जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ आश्विन १४, शुक्रबार १०:२८

चितवन । चितवनमा मोटरसाइकल आफै अनियन्त्रित भइ सडकमा खसेका व्यक्तिको ट्रकले किचेर मृत्यु भएको छ । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा ट्रकले किचेर एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा भरतपुर–२ बस्ने १९ वर्षीय महमद सकिल साह रहेका छन् । उनको ट्रकले किचेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, बिहीबार साँझ ६ः५० बजेको समयमा मुग्लिङबाट नारायणगढतर्फ आइरहेको बागमती प्रदेश ०६–०१ प १९८० नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टिदा मोटरसाइकल पछाडि सवार साह सडकमा खसेका थिए ।

नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको लु २ ख ५५ नम्बरको ट्रकले सडकमा खसेका साहलाई कुल्चिँदा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

मोटरसाइकल चालक भरतपुर–२ बस्ने ३० वर्षीय अकवर साह भने सकुशल रहेका छन् । ट्रक र ट्रक चालक स्याङजा गल्याङ नगरपालिका–८ बस्ने ३२ वर्षीय अर्जुन पचभैया मगरलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।