राष्ट्रपतिले अपराध गर्नुभयोः उपेन्द्र यादव
मकवानपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दुवै सदनबाट दोश्रो पटक स्वीकृत भई पेश गरिएकोे नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले अपराध गरेको बताएका छन् ।
हेटौंडामा पार्टी पुर्नगठन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले राष्ट्रपतिको कदमले मानव अधिकार खोसिएको भन्दै चिन्ता व्यक्त गरे । संरक्षकबाटै संविधानको उल्लंघन भएको यादवले टिप्पणी गरे ।
राष्ट्रपति भण्डारीले संविधानलाई नै धरापमा पार्ने खेल खेलेको भन्दै यादवले आफ्नै देशका नागरिकको सन्तानलाई कहिलेसम्म अनागरिक बनाएर राख्न खोजेको भन्दै प्रश्न गरे ।
‘नागरिकता नदिनु भनेको त अन्र्तराष्ट्रिय कानूनकै व्याख्या गर्ने हो भने पनि मानवतावादी कानूनकोे उल्लंघन हो, कसैलाई नागरिकता र राष्ट्रियताविहिन बनाइराख्ने जुन प्रयास राष्ट्रपतिले गर्नुभएको छ त्यो अपराध हो ।’ उनले भने ।
उनले केपी ओली सरकारको समयमा हुबहु पारित भएको विधेयकलाई अहिले आएर प्रमाणिकरण नगर्नु अचम्मको विषय भएको बताए । रक्षा गर्नुपर्ने व्यक्तिले नै संविधानको धज्जी उडाएको भन्दै उनले राष्ट्रपति भण्डारीले घुँडा टेकेरै छाड्ने दावी गरे ।
