नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई सरकारको आग्रह

तु खबर संवाददाता
२०८० जेष्ठ १२, शुक्रबार १८:४९
file-photo

काठमाडौं । सरकारले संघीय संसदबाट पारित भएर राष्ट्रपति कार्यालयमा अलपत्र परेको नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको छ ।

शुक्रबारको मन्त्रिपरिषद बैठकले गत असोजदेखि राष्ट्रपति कार्यालयमा निर्णयविहीन अवस्थामा रहेको विधेयक प्रमाणीकरण गर्न अनुरोध गर्ने निर्णय गरेको हो ।

निवर्तमान राष्ट्रपति विद्या भण्डारीले प्रमाणीकरण नगरी राष्ट्रपतिको कार्यालयमा अलपत्र पारेको नागरिकता विधेयक कसरी टुंगो लगाउने भन्नेबारे राष्ट्रपति रामचन्द्र पौडेलले कानूनी परामर्शमा थिए ।

उनले विधेयक प्रमाणीकरण गर्ने आधार र कानूनी धरातलबारे बारम्बार जिज्ञासा राखेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले महान्यायाधीवक्ता सहित संवैधानिक मामिलाका कानुन व्यवसायीहरुसँग विधेयक अघि बढाउनेबारे परामर्श गरेका थिए ।

आफ्नो सन्देशसहित एक पटक फर्काएको विधेयक हुबहु फेरि पेश भएपछि निवर्तमान राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गरेकी थिइनन् ।