जापानिज इन्सेफ्लाइटिसबाट थप १ जनाको मृत्यु
चितवन । जापानिज इन्सेफ्लाइटिसका कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका–२२ की ५२ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
ती महिलालाई सङ्क्रमितको सूचीमा रहेपछि खोजीका क्रममा यसअघि नै मृत्यु भएको ढिला गरी थाहा भएको स्वास्थ्य कार्यालय प्रमुख दुर्गादत्त चापागाईले जानकारी दिए । उनका अनुसार योसँगै जिल्लामा जापानिज इन्सेफ्लाइटिसका कारण मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ ।
यसअघि मृत्यु हुनेमा माडी नगरपालिका–१ चैनपुरकी ६० वर्षीया वृद्धा रहेकी थिइन् । हालसम्म जिल्लामा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएका १० मध्ये दुई जनाको मृत्यु भएको हो । पछिल्लो बिरामीको बारेमा सोधपुछ गर्दै जाँदा उनको भदौको ३ गते नै मृत्यु भएको जानकारी शनिबार प्राप्त भएको हो ।
