संविधानको रक्षा एवम् पूर्ण पालना गर्न प्रतिवद्ध छौँः मुख्यमन्त्री पाण्डे

तु खबर संवाददाता
२०७९ आश्विन ३, सोमबार १०:५४

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मुलुकमा स्थापित संघीय लोकतन्त्रिक गणतन्त्र र संविधानको रक्षा गर्दै त्यसको पूर्ण पालना गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

सातौँ संविधान दिवस तथा राष्ट्रिय दिवस २०७९ को अवसरमा प्रदेश सरकारले हेटौंडामा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले प्रदेश सरकार संविधानको मर्म र भावनालाई पालना गर्दै जनताको जीवनमा महसुस हुनेगरी कार्यान्वयन गर्न तयार रहेको उल्लेख गरे ।

नेपाली जनताको त्याग, तपस्या र बलिदानीबाट २०७२ मा जारी संविधानले संघीय संसद्मा दुई सदनात्मक व्यवस्था, प्रदेशमा एक सदनात्मक र स्थानीय तहमा प्रतिपक्षीरहित व्यवस्थाको स्थापना गरेको उनले बताए । सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालत तथा स्थानीय तहमा न्यायिक समिति निर्माण गरी न्यायमा सबै जनताको सर्वसुलभ पहुँच स्थापना भएको उनले बताए ।

संविधानले प्रदान गरेको अधिकार अझै स्थापित हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै संविधानलाई अक्षरस कार्यान्वयनको चरणमा लैजान सके मुलुकमा विद्यमान अस्थिरता हटेर जाने पाण्डेले बताए ।

प्रदेश सरकारले सबै जातजाति, भाषाभाषि, वर्ण, लिङ्ग पेशा, सम्प्रदायलाई समेटेर अघि बढ्ने गरी नीति निर्माण गरेको उनले बताए । मकवानपुर, धादिङ र चितवनमा बसोबास रहेको सिमान्तकृत चेपाङका लागि विशेष क्षेत्र घोषणा गरिएको र भाद्र २२ गते न्वागी पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरी सो समुदायको सम्मान गरिएको पाण्डेले उल्लेख गरे ।

मन्त्रिपरिषद्बाट निर्णय गरी प्रदेशमा नेपालीसहित नेवारी भाषा र तामाङ भाषा सरकारी कामकाजको लागि प्रयोग हुने व्यवस्था मिलाइएको उनले बताए । ७ वटै प्रदेशका सचिव तथा प्रमुखसचिवसमेतको उपस्थितिमा संविधान कार्यान्वयनको सन्दर्भमा देखिएका समस्याबारे छलफल गरी हेटौंडा घोषणापत्र जारी गरिएको उनले
बताए ।

संविधान दिवसको अवसरमा हेटौंडामा झाँकीसहितको र्यालीले बजार परिक्रमा गरेको थियो भने कार्यक्रममा विभिन्न जातजाति भेषभुषा भल्कने नृत्य प्रस्तुत गरिएको थियो ।