सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ आजबाट खुल्यो

तु खबर संवाददाता
२०७९ आश्विन १, शनिबार ०८:४९

काठमाडौं । यस वर्षको दशैंका लागि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ आजदेखि खुलेको छ । यातायात व्यवस्था विभागका अनुसार आजदेखि टिकट बुकिङ खुला गरिएको छ ।

यसपटकको दशैंका लागि तोकिएको भाडादर अनुसार यात्रुले टिकट काट्ने सुविधा पाउनेछन् । बढी भाडा लिएमा ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग र नागरिक सहायता कक्षमा सम्पर्क गर्न सकिने विभागले जानकारी दिएको छ ।

यातायात व्यवसायीहरूले अग्रिम टिकट बुकिङ गर्दा यथाशक्य अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउने सहमति गरेका थिए । अनलाइन टिकट बुकिङ गर्ने यात्रुलाई यातायात व्यवसायीहरुले यथाशक्य छुट वा सहुलियत समेत प्रदान गर्ने र गराउने सहमति भएको छ ।

अग्रिम टिकट बुकिङ तथा उपत्यकाबाट बाहिरिने र उपत्यकामा भित्रिने यात्रुवाहक सवारी साधनको यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, उपभोक्ता मञ्च, व्यवसायी र मजदूरहरूसँग सहकार्य गरी प्रभावकारी अनुगमन गरिने विभागले जनाएको छ ।

आवश्यक सवारी साधनहरुको व्यवस्था यातायात व्यवसायीले गर्ने र यातायात आवागमनमा सहज बनाउन खाद्यान्न लगायतका अत्यावश्यक वस्तुहरुको ढुवानी गर्ने बाहेकका ठूला सवारी साधनहरु असोज १५ गतेदेखि २२ गतेसम्म नारायणगढदेखि काठमाडौंसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय भएको छ । साथै यात्रुबाहक सवारी साधनलाई घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर लागू हुने गरी रुट परमिट खुला गर्ने निर्णय पनि भएको छ ।